बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित
बैतडी । बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका हुन् ।
यीमध्ये ३१२ जना कडा कुपोषणले ग्रसित छन् । उमेर र उचाइ अनुसार बालबालिकामा निकै कम तौल र ख्याउटे अनुहार भएको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बैतडीमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए ।
कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोषिलो खाना कार्यव्रmम सञ्चालन भइरहेको उनले बताए।
उनले भने, “गत वर्षको तुलनामा यस वर्ष कुपोषित बालबालिका बढी फेला परे । गत वर्ष एक हजार २९९ कुपोषित बालबालिका रहेकोमा यस वर्ष एक हजार ९३४ जना कुपोषित बालबालिका पाइए ।” पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको उनले बताए ।
पोषण सुधार गर्न बैतडीमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।युएसएआइडीको आर्थिक सहयोगमा बैतडीमा आठ वर्षदेखि सुआहारा कार्यक्रमले गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउने कार्यव्रmम सञ्चालन गरिरहेको गैरसरकारी संस्था स्वदेश बैतडीका राधिका भट्टले बताए ।