
रेडक्रस पुनर्वास उपशाखाको सातौँ साधारण सभा सम्पन्न
पुनर्वास । नेपाल रेडक्रस सोसाईटी पुनर्वास उपशाखाको सातौँ साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।
शुक्रबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा रेडक्रस सोसाईटी पुनर्वास उपशाखाको सातौँ साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले रेडक्रसका लागि भुमि उपलब्ध गराई कार्यपालिकाको बैठकबाट उपयुक्त ठाउँमा भवनका लागि जग्गा उपलब्ध गराउने समेत जानकारी दिनुभयो । उहाँले बिभिन्न दातृ निकायसँग समन्वय गरी एम्बुलेन्स ल्याउन सफल भएकोमा धन्यवाद व्यक्त गर्दै नगरबाट हुने सहयोगमा कुनै कमी नरहने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा रेडक्रसको नयाँ कार्यसमितिका लागि सहमती जुट्न नसकेपछि बन्द सत्र शनिबारलाई सारेको सचिव रुपेश खरेलले जानकारी दिनुभयो । सचिव खरेलले बिहान ९ बजे उम्मेद्वारी झिक्ने समय रहेको र सबैको दाबी विरोध रहेमा निर्वाचनको चरणमा जाने बताउनुभयो ।
रेडक्रसका अध्यक्ष युवराज सुयलको सभाध्यक्ष तथा सह–सचिव नविन तिमिल्सेनाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमलाई सचिव रुपेश खरेलले सञ्चालन गर्नुभएको थियो ।