
सुदूरपश्चिममा आजदेखि पर्व गौरा सुरु, घर–घरमा बिरुडा राखिदै
डडेल्धुरा -सुदूरपश्चिमको प्रमुख मौलिक तथा सांस्कृतिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीका दिन मनाइने बिरुडा पञ्चमीसँगै यस वर्षको गौरा पर्व सुरु भएको हो।
गौरा पर्वको पहिलो दिन आज व्रतालु महिलाले घर–घरमा बिरुडा भिजाएर पर्वको सुरुआत गर्दैछन्। बिरुडा पाँच प्रकारका अन्न तथा गेडागुडीमास, कलौँ, गहत, गहुँ र गुरुस—को मिश्रणबाट तयार गरिन्छ।
परम्पराअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारिन्छ। त्यसपछि उक्त भाँडोमा पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीदेवीको प्रसादका रूपमा लिइन्छ भने गौराको पूजाआजामा समेत यसको विशेष प्रयोग गरिन्छ।
आलिताल, डडेल्धुराकी ७८ वर्षीया खगेस्वरी भट्टका अनुसार पुत्रदा एकादशीको व्रतपछि भाद्र शुक्लपक्ष पञ्चमी अर्थात् बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने परम्परा छ।
गौरा पर्वमा महिलाहरूले व्रत बस्ने, गौरादेवीको पूजा गर्ने तथा बिरुडा प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ। सुदूरपश्चिममा गौरा पर्वलाई धार्मिक आस्था, पारिवारिक सुख–समृद्धि र मौलिक संस्कृति झल्काउने महत्वपूर्ण पर्वका रूपमा मनाउने गरिन्छ।















