
आफ्नै ६ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा वृद्ध बुवाविरुद्ध जाहेरी, आरोपी फरार
कैलाली – कैलालीको गौरीगंगा नगरपालिकामा आफ्नै ६ वर्षीया नाबालिका छोरीमाथि जबर्जस्ती करणी गरेको गम्भीर आरोपमा एक वृद्ध बुवाविरुद्ध प्रहरीमा जाहेरी परेको छ।
सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) समेत बुझ्दै आएका ती पुरुषमाथि आफ्नै नाबालिक छोरीमाथि यौन हिंसा गरेको आरोप लागेपछि घटना सार्वजनिक भएको हो। घटना घटेलगत्तै आरोपी पुरुष फरार भएका छन्।
ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार पीडित बालिकाको परिवारले कार्यालयमा उपस्थित भई किटानी जाहेरी दर्ता गराएका छन्। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरासिंह महराका अनुसार घट्नाबारे जाहेरी प्राप्त हुनासाथ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
”जाहेरी परे लगत्तै आरोपीको पहिचान भइसकेको छ,” डिएसपी थापाले भने, “फरार रहेका वृद्धको तीव्र गतिमा खोजी भइरहेको छ भने घटनाबारे सुक्ष्म अनुसन्धान जारी छ।”
पीडित बालिकालाई हाल सुरक्षा र पुनर्स्थापनाका लागि एक स्थानीय सामाजिक संस्थाको संरक्षणमा राखिएको छ। बालिकाको स्वास्थ्य परीक्षण तथा मानसिक परामर्शको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
आफ्नै घरभित्र संरक्षण गर्नुपर्ने अभिभावकबाटै यस्तो अमानवीय र जघन्य अपराध भएको खबरले स्थानीय समाज स्तब्ध बनेको छ। मानविय संवेदना र सामाजिक मर्यादा माथि नै गम्भीर प्रश्न खडा गरेको यस घटनाका आरोपीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कडा कानुनी कारबाही गर्न स्थानीयले माग गरेका छन्।















