
जागिर छाडेर कोरिया पुगेका असई सईमा बढुवा भएपछि…
काठमाडौं -नेपाल प्रहरीको बढुवा प्रक्रियामा गम्भीर लापरबाही देखिएको छ।
जागिर छाडेर दुई महिनाअघि दक्षिण कोरिया पुगिसकेका प्रहरी सहायक निरीक्षक (असई) जोसेफ तावालाई प्रहरी प्रधान कार्यालयले गत साता प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरेपछि उक्त लापरबाही सार्वजनिक भएको हो।
झापाको हल्दीबारी घर भएका तावा ताप्लेजुङस्थित प्रहरी चौकी सिवामा कार्यरत थिए। उनी गत वैशाख १६ गतेदेखि गैरहाजिर भएपछि प्रहरी प्रधान कार्यालयले असार १० गते जागिरबाट हटाउने सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो।
तर, उक्त सूचना प्रकाशित भएको दुई दिनपछि नै सार्वजनिक गरिएको सई बढुवा सिफारिस सूचीमा तावाको नामसमेत समावेश भएको भेटिएको छ।
प्रहरी स्रोतका अनुसार तावालाई जागिरबाट हटाउने प्रशासनिक प्रक्रिया पूर्ण रूपमा टुंगो नलागेकाले प्रहरीको प्रणाली (सिस्टम) मा उनको विवरण सक्रिय देखिएको थियो। यही कारण बढुवा सिफारिसमा उनको नाम परेको र निर्णयपछि सूचीबाट नाम हटाउने तयारी भइरहेको बताइएको छ।
यस घटनाले नेपाल प्रहरीको रेकर्ड व्यवस्थापन तथा बढुवा प्रक्रिया समन्वयमा गम्भीर कमजोरी रहेको देखाएको छ।















