
पुनर्वासमा ७ दिने बुके बनाउने तालिम सम्पन्न
पुनर्वास -पुनर्वास नगरपालिकाको उद्यम तथा रोजगार शाखाको आयोजनामा सञ्चालन गरिएको ७ दिने बुके बनाउने तालिम सम्पन्न भएको छ।
बिहिबार एक कार्यक्रमका बीच बुके बनाउने तालिमको समापन गरिएको हो।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत आयोजित तालिमको समापन कार्यक्रममा बोल्दै वक्ताहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर स्वरोजगार र आयआर्जनमा जोडिन सहभागीहरूलाई आग्रह गरेका थिए।
कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले अहिले प्रविधिको युग भएकाले सिकेका सीपलाई मोबाइल तथा सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरी आयआर्जनको माध्यम बनाउन सकिने बताइन्। विवाह, व्रतबन्ध, जन्मदिन लगायत विभिन्न अवसरमा बुके तथा उपहार दिने चलन बढ्दै गएको उल्लेख गर्दै उनले यसबाट राम्रो आम्दानी गर्न सकिने धारणा राखिन्।
त्यस्तै, पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले यसअघि पनि मुढा तथा चप्पल बनाउने तालिम सञ्चालन गरिएको स्मरण गराउँदै सीप सिक्नु मात्र नभई त्यसको व्यावहारिक प्रयोग र सदुपयोग गर्न आवश्यक रहेको बताए।
तालिममा १५ जनाको सहभागिता थियोे । सहभागीहरूले बुके निर्माणसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका छन्।
यस्ता सीपमूलक तालिमले स्थानीय महिलाहरू तथा लक्षित समुदायलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
पुनर्वास नगरपालिकाले आगामी दिनमा पनि उद्यमशीलता विकास र रोजगारी प्रवर्द्धनका लागि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
















