
हरियालीमा केवल २० मिनेट: तनाव घटाउने प्राकृतिक उपाय
काठमाडौँ -हिजोआजको व्यस्त जीवनशैलीमा बिहान उठेदेखि मोबाइल, कार्यालयको काम, बैठक, ट्राफिक र दिनभरि स्क्रिनअगाडि बस्ने बानीले तनावलाई सामान्य बनाइदिएको छ ।
कतिपयलाई त आफू लगातार दबाबमा बाँचिरहेको छु भन्ने कुरा नै थाहा हुँदैन । यस्तोमा कसैले तपाईलाई २० मिनेट मात्रै पार्कमा बस्दा वा रूखहरूको बीचमा टहल्दा पनि राहत मिल्छ भनेर भन्यो भने तपाईं पत्याउनुहुन्छ ? प्रकृतिको सान्निध्यमा थोरै थोरै समय बिताउँदा पनि मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ भनेर विशेषज्ञहरू भन्छन् ।
बीबीसी रेडियोको ह्वाट्स अप डक्स ? पोडकास्टमा अक्सफोर्ड विश्वविद्यालयका बायोडाइभर्सिटीका प्राध्यापक क्याथी विलिसले विभिन्न अध्ययनहरूलाई उद्धृत गर्दै हरियाली र प्राकृतिक वातावरणमा समय बिताउँदा शरीर आफैं आरामदायी अवस्थामा पुग्ने बताएकी छिन् ।
यसका कारण मुटुको धड्कन सामान्य हुन, बेचैनी कम हुन र मन शान्त महसुस हुन सहयोग पुग्न सक्छ । नेचरमा छापिएको एक्स्टर विश्वविद्यालय लगायतका अनुसन्धानकर्ताहरूले बेलायतमा करिब २० हजार मानिसमाथि गरेको अध्ययनमा हरेक हप्ता कम्तीमा १२० मिनेट प्रकृतिको बीचमा समय बिताउने व्यक्तिहरूले आफूलाई बढी स्वस्थ र मानसिक रूपमा राम्रो महसुस गरेको पाइयो ।
तनाव गराउने हार्माेन पनि घट्छन्
तनाव हुँदा शरीरमा कोर्टिसोल र एड्रेनालिनजस्ता हार्माेनको मात्रा बढ्छ । लामो समयसम्म यी हार्माेन उच्च रहँदा निद्रा, मनोदशा र समग्र स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ विभिन्न अध्ययनहरूले प्राकृतिक वातावरणमा समय बिताउने व्यक्तिहरूमा यी तनावसम्बन्धी हार्माेनको स्तर घटेको देखाएका छन् । साथै रोगसँग लड्ने केही प्रतिरक्षा कोशिकाहरूको सक्रियता पनि सुधारिएको पाइएको छ ।
रूखबिरुवाको सुगन्धको पनि प्रभाव
हरियाली हेर्नु मात्र होइन, रूखबिरुवाबाट निस्कने प्राकृतिक सुगन्धले पनि मानसिक शान्ति दिन सक्छ । विशेषगरी सल्ला लगायतका रूखबाट निस्कने केही प्राकृतिक तत्वहरूले मस्तिष्कलाई आरामदायी बनाउन मद्दत गर्न सक्ने अनुसन्धानहरूले देखाएका छन् । जंगल वा पहाडी क्षेत्रमा पुग्ने बित्तिकै केही मानिसले ताजगी वा आनन्द महसुस गर्ने कारण पनि यही हो ।
आन्द्राको स्वास्थ्य र प्रतिरक्षामा पनि मिल्छ फाइदा
विशेषज्ञहरूका अनुसार माटो, बिरुवा र प्राकृतिक वातावरणमा पाइने सूक्ष्म जीवहरूले शरीरको माइक्रोबायोमलाई सकारात्मक प्रभाव पार्न सक्छन् । माइक्रोबायोम पाचन प्रणाली, प्रतिरक्षा शक्ति तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित मानिन्छ ।
पार्क जान समय छैन भने ?
यदि दैनिक पार्क जान सम्भव छैन भने पनि घरको बार्दलीमा रूखबिरुवा लगाउनुहोस् झ्यालबाट हरियाली हेर्ने वा कामको बीचमा केही मिनेट खुला वातावरणमा बिताउने जस्ता साना अभ्यास गर्न सक्नु हुन्छ । यस्ता गतिविधिले पनि तपाईंलाई लाभ दिन सक्छन् ।















