
पुनर्वास-९ मा वडा अध्यक्षसँग हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, ब्राइट बीचफाटा प्रथम हुन सफल ।
पुनर्वास –कञ्चनपुरकाे पुनर्वासमा वडा अध्यक्षसँग हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। पुनर्वास- ९ को आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा वडा भित्रका सातवटा विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । प्रतियोगितामा वडाका सातवटा विद्यालयका आधारभूत तहका कक्षा १-५ का विद्यार्थीहरूले भाग लिएका थिए ।
प्रतियोगितामा बोल्दै पुनर्वास- ९ का वडा अध्यक्ष नरबहादुर विकले प्रतियोगिता हरेक महिना एक विद्यालयमा आयोजना गरिएको बताउनुभयो । सबै विद्यालयबाट छनोट भएका उत्कृष्ट टिमहरूलाई आर्थिक वर्षको अन्तिममा वडास्तरको प्रतियोगिता गरेको उहाँले बताउनुभयो । प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरूको ज्ञान र प्रतिस्पर्धात्मक भावना बढाउन मद्दत मिलेको उहाँले बताउनुभयो ।
प्रतियोगिताका कारण विद्यालयसम्म पुग्ने वातावरण सिर्जना हुनुका साथै, विद्यार्थीहरूमा पनि पढ्नुपर्छ भन्ने भावना जागेको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि वडाध्यक्षसँग हाजिरी जवाफ प्रतियोगितालाई निरन्तरता दिने वडा अध्यक्ष विकले बताउनुभयो।
कार्यक्रममा बोल्दै जीवनशक्ति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रणबहादुर खातीले प्रतियोगिताले विद्यार्थीहरूमा राम्रो सन्देश पुर्याउने र अध्ययनमा उत्साह जागाउने काम गरेको बताउनुभयो ।
यस्तै, ब्राइट बीचफाटा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक प्रवेश पौडेलले वडाले विद्यार्थी, विद्यालय र स्थानीय सरकारलाई जोड्ने काम गरेको बताउनुभयो ।
प्रतियोगितामा ब्राइट बीचफाटा इङ्लिस बोर्डिङ स्कुलले पहिलो, राष्ट्रिय माध्यमिक विद्यालयले दोस्रो र सरस्वती आधारभूत विद्यालयले तेस्रो स्थानमा जित हासिल गरे । दीप शिखर आधारभूत विद्यालयलाई सान्त्वना पुरस्कार जितेको छ ।प्रतियोगितामा सहभागी भएका अन्य विद्यालयहरूमा सिता बस्ती पब्लिक इङ्लिस बोर्डिङ स्कुल, प्रीति गार्डेन इङ्लिस बोर्डिङ स्कुल र जीवनशक्ति माध्यमिक विद्यालयका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी र सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।















