
पहिचान हुन नसकेका शवको देवघाटमा अन्त्येष्टि गरिँदै
चितवन-त्रिशूली तथा नारायणी नदी किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण बगेर आएका शवलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसीआरसी) को मापदण्डअनुसार वैज्ञानिक ढङ्गले जमिनमुनि व्यवस्थापन सुरु गरिएको हो। चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म २५९ शव फेला परेका छन्। तीमध्ये नौ जनाको शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ।
शनिबार पहिचान हुन नसकेका ९६ शवमध्ये पहिलो चरणमा डिएनएका लागि नमूना सङ्कलन गरिएका २६ शवलाई देवघाटमा जमिनमुनि व्यवस्थापन गरिएको छ भने बाँकी शव व्यवस्थापनको क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए। डिएनएका लागि नमूना सङ्कलन सम्पन्न भएका तर आफन्तबाट पहिचान हुन नसकेका शवलाई क्रमशः देवघाटमा लगेर जमिनमुनि व्यवस्थापन गर्ने कार्य जारी रहनेछ। प्रत्येक शवलाई १.५ मिटर गहिरो खाडलमा एक–एक गरी राखिनेछ भने एउटा शव र अर्को शवबीच ४० सेन्टिमिटरको दूरी कायम गरिनेछ । भविष्यमा डिएनए परीक्षणबाट पहिचान पुष्टि भएमा शव सहजै निकाल्न सकिने व्यवस्था मिलाइएको उनले बताए।
प्रहरी उपरीक्षक पौडेलले भने, “प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने सङ्केत ट्याग बाँधिएको छ। शव जमिनमुनि व्यवस्थापन गरेपछि ठ्याक्कै त्यसको माथि देखिने गरी स्ट्यान्ड राखेर सामान्य कङ्क्रिट ढलान गरिन्छ र सोही कोड नम्बर अङ्कित गरिन्छ।” भरतपुर अस्पतालका फरेन्सिक विज्ञ डा कश्यप श्रेष्ठले शवको पहिचानलाई केन्द्रमा राखेर फरेन्सिक, डेन्टल र अन्य स्वास्थ्यकर्मीको टोलीले संयुक्त रूपमा काम गरिरहेको बताए। उनका अनुसार नदीमा धेरै दिन रहेका कारण शव सड्ने, गल्ने र बाह्य रूपमा पहिचान गर्न कठिन हुने भएकाले डिएनएका लागि आवश्यक जैविक नमूना सङ्कलन गरिएको हो।
डेन्टल टोलीले विशेषगरी पछाडिका मोलार दाँतबाट डिएनएका लागि नमूना सङ्कलन गरिरहेको उनले जानकारी दिए। डा श्रेष्ठका अनुसार प्रत्येक शवको ट्याग कोडअनुसार डिएनएका लागि नमूना सङ्कलन गरिएको छ। भविष्यमा आफन्तबाट प्राप्त नमूनासँग मिलान गरी शवको पहिचान गर्न सकियोस् भनेर आवश्यक अन्य जैविक नमूनासमेत सुरक्षित रूपमा सङ्कलन गरिएको उनले बताए।
भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार शुक्रबारसम्म चारवटा फरेन्सिक विज्ञ टोली परिचालन गरिएकामा शनिबार थप सात जनाको चिकित्सकीय टोली परिचालन गरिएको थियो। फरेन्सिक टोलीमा भरतपुर अस्पतालका दुई, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरका एक–एक, भेरी अस्पतालका एक तथा नेपाल मेडिकल कलेजका एक जना चिकित्सक रहेको उनले बताए। त्यसैगरी डिएनएका लागि नमूना सङ्कलन तथा अन्य चिकित्सकीय कामका लागि थप टोलीसमेत परिचालन गरिएको छ।
डिएनएका लागि नमूना सङ्कलनमा खटिनुभएका पुरानो मेडिकल कलेज भरतपुरका दन्तरोग विशेषज्ञ डा प्रभास रोयले शवको दाँत तथा बङ्गाराबाट डिएनए नमूना सङ्कलन गरिएको बताए। उनले भने, “दाँतबाट डिएनए नमूना सङ्कलन गर्न दुईदुई वटा दाँत र दाँत नभएका शवमा हड्डीका टुक्रा निकालेर फरेन्सिक टोलीलाई बुझाएका छौँ।”
अस्पतालका प्रवक्ता डा सापकोटाले ठूलो सङ्ख्यामा शव एकैपटक ल्याइएकाले व्यवस्थापनमा चुनौती रहे पनि स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य कर्मचारी परिचालन गरी काम भइरहेको बताए। शवबाट अन्य रोग फैलिन नदिन अस्पतालले आवश्यक सतर्कता अपनाएको उनले जानकारी दिए। शव व्यवस्थापन तथा पहिचानको काममा जिल्ला सुरक्षा निकाय, स्वयंसेवक तथा विभिन्न सङ्घसंस्थाको समेत सहयोग रहेको उनले बताए।















