
डोटीमा शिक्षकले कुटेर घाइते भएकी श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
धनगढी -डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा श्रीमानको कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा जोरायल गाउँपालिका–४ देउथलीकी ४७ वर्षीया अमृता ओली रहेकी छन्। प्रहरीका अनुसार बुधबार दिउँसो करिब १ः४० बजे ५१ वर्षीय श्रीमान् चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा अमृताको पेटको बायाँ भागमा चोट लागेको थियो।
घटनाबारे जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्टले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय जोरायलबाट तीन जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। गम्भीर घाइते अमृतालाई उपचारका लागि स्वास्थ्य चौकी चनकट्टे पठाइएको थियो।
तर, उपचारका क्रममा चिकित्सकले साँझ ६ः२० बजे उनलाई मृत घोषणा गरेका हुन्। मृतकका पति जोरायल गाउँपालिका–४ स्थित जगदम्बा आधारभूत विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत रहेको बताइएको छ।
मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनामा संलग्न श्रीमान् चन्द्रबहादुर ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














