
साईन नेपालद्वारा डोटीका सुत्केरी महिलालाई मातृशिशु आहार वितरण
डोटी — मानवीय सेवामा अनेकौ प्रयास (साइन नेपाल) धनगढीले डोटी जिल्लाका करिब एक सय सुत्केरी महिलाहरूलाई मातृशिशु आहार वितरण गरेको छ।
संस्थाको “केयर एण्ड शेयर” कार्यक्रम अन्तर्गत
सायल गाउँपालिका–५ का ५७ जना र दिपायल–सिलगढी नगरपालिका–१ का ४२ जना सुत्केरी महिलाहरूलाई मातृशिशु आहार वितरण गरेको हो।
संस्थाका अध्यक्ष भक्तराज जोशीका अनुसार प्रत्येक सुत्केरी महिलालाई अण्डा एक क्यारेट, चना ३ किलो, नुन १ किलो, काजु एक प्याकेट, बाल भोजन एक प्याकेट र तोरीको तेल एक लिटर वितरण गरिएको छ।
उनले सुत्केरी महिलाको पोषण सुधार र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए।
सुत्केरी महिला र शिशुको स्वास्थ्य सुधारका लागि विगतका वर्षहरूमा पनि संस्थाले यस्ता पोषण तथा मानवीय सहयोगका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।
















