
शिक्षासँगै सिर्जनशीलता : कञ्चन पब्लिक स्कुलको नवौँ खुला नृत्य प्रतियोगिता सम्पन्न
पुनर्वास -कञ्चनपुरको पुनर्बास नगरपालिका–११ मा बसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा कञ्चन पब्लिक स्कुल द्वारा आयोजित नवौँ खुला नृत्य प्रतियोगिता आज भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम विद्यालयका संस्थापक सुरेश अधिकारीको सभापतित्व मा सम्पन्न भएको हो भने पुनर्बास नगर उप–प्रमुख भुलिया कुमारी राना देउबा प्रमुख अतिथि रहनुभएको थियो।
यस्तै, पुनर्बास–११ का वडा अध्यक्ष, पूर्व गाविस अध्यक्ष भक्तबहादुर अधिकारी तथा नगर प्याब्सन अध्यक्ष नरेन्द्र गौतम विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो।
प्रतियोगितामा पुनर्बास तथा आसपासका १० वटा विद्यालय सहभागी भएका थिए। सहभागी विद्यालयबीच कडा प्रतिस्पर्धा देखिएको नृत्य प्रतियोगितामा प्रथम स्थान : राष्ट्रिय माध्यमिक विद्यालय द्वितीय स्थान : आयोजक कञ्चन पब्लिक स्कुल र तृतीय स्थान : पपुलर इङ्लिश बोर्डिङ स्कुल
हासिल गर्न सफल भएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्य, सन्देशमूलक नाटक तथा रचनात्मक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। यस्ता प्रस्तुतीहरूले विद्यार्थीभित्रको प्रतिभा, सिर्जनशीलता र संस्कृतिप्रतिको सम्मान झल्काएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा बोल्दै सभापति सुरेश अधिकारी ले विद्यालय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि समान महत्व दिनुपर्ने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।

प्रमुख अतिथि भुलिया कुमारी राना देउबा ले बसन्त पञ्चमी ज्ञान, कला र संस्कृतिको पर्व भएको उल्लेख गर्दै विद्यालयस्तरबाटै यस्ता रचनात्मक कार्यक्रमको निरन्तरताले समाजमा सकारात्मक ऊर्जा प्रवाह हुने बताउनुभयो।
यस्तै, विशिष्ट अतिथीहरूले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई संस्कार, अनुशासन र प्रतिभा विकाससँग जोडिनुपर्नेमा जोड दिएका थिए।
विद्यालयकी प्रधानाध्यापक आरती बिष्ट अधिकारी ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यवस्थित र गुणस्तरीय कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन मुख्य उद्घोषक दिपक खत्री ले गर्नुभएको थियो।
















