
कञ्चनपुरको पुनर्वासमा महिलाहरूमा देखिने पाठेघरको समस्याको पहिचान, उपचार तथा रोकथामका लागि निःशुल्क शिविर, २७ जनाले लिए सेवा
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित परासन स्वास्थ्य चौकीमा महिलाहरूमा देखिने पाठेघर सम्बन्धी समस्याको पहिचान, उपचार तथा रोकथामका लागि आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरसम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा पुनर्बास नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमा महिला तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक र मेडिकल अफिसरहरूले महिलाहरूको चेकजाँच, उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए ।
उक्त शिविरमा १ सय ६७ जना महिलाहरूले स्वास्थ्य सेवा लिएको पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खडकाले जनाकारी दिनुभयो ।
सेवाग्राहीमध्ये ७३ जना महिलाले Visual Inspection with Acetic Acid जाँच गराएका थिए, जुन पाठेघरको मुखमा क्यान्सरको जोखिम छ वा छैन भनेर पत्ता लगाउन गरिन्छ । २७ जना महिलाले पाठेघरको भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) जाँच गराएको उहाँले बताउनुभयो ।
परासन स्वास्थ्य चौकीका प्रमुख रामचन्द्र तिमिल्सीनाले शिविरमा सहभागी अधिकांश महिलाहरूमा व्यक्तिगत सरसफाइको कमीका कारण पाठेघरबाट फोहोर पानी बग्ने, संक्रमण, दुखाइ र असहजता जस्ता समस्या देखिएको बताउनुभयो ।
चेकजाँचसँगै केही समयका लागि आवश्यक औषधिहरू निःशुल्क रूपमा वितरण गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । साथै, जिल्ला स्वास्थ्य कार्यालयको टोलीले महिलाहरूलाई व्यक्तिगत सरसफाइ, नियमित स्वास्थ्य परीक्षण, सुरक्षित यौन व्यवहार, र पाठेघर क्यान्सरको रोकथाम सम्बन्धी आवश्यक सुझाव तथा परामर्श समेत प्रदान गरेको थियो ।
स्वास्थ्य चौकी प्रमुख तिमिल्सिनाका अनुसार परासन क्षेत्र पुनर्वास नगरपालिकाको भौगोलिक रूपमा दुर्गम क्षेत्र भएको उल्लेख गर्दै, यहाँका नागरिकहरूका लागि शिक्षा र स्वास्थ्य सेवामा विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
यस्ता स्वास्थ्य शिविरहरूले स्थानीय महिलाको स्वास्थ्य सचेतना र पहुँचमा सकारात्मक प्रभाव पार्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्य कार्यालय कञ्चनपुरले आगामी दिनमा पनि महिला, किशोरी तथा जोखिममा रहेका समुदाय लक्षित स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।
















https://shorturl.fm/GYzMi