
आईपीएलमा शतक बनाएका मार्श दाजुभाइको नाममा बन्यो दुर्लभ कीर्तिमान
काठमाडौं -लखनउ सुपर जायन्ट्सका अष्ट्रेलियन क्रिकेट खेलाडी मिचेल मार्शले आईपीएल खेल्न थालेको १५ वर्षपछि बिहीबार गुजरात टाइटन्सविरुद्ध पहिलो शतक प्रहार गरे ।
उनका दाजु शन मार्शले आईपीएलको पहिलो सिजन अर्थात् २००८ मै पञ्जाब किङ्स (किङ्स इलाभेन पञ्जाब)बाट खेल्दै शतक बनाएका थिए । त्यसको १७ वर्षपछि उनका भाइ मिचेल मार्शले बिहीबार शतक बनाउँदा यी दाजुभाइको नाममा दुर्लभ कीर्तिमान बनेको छदुई दाजुभाइबाट आईपीएलमा शतक बनाउने यो पहिलो जोडी बनेको छ। मिचेलले आईपीएलमा आफ्नो यात्रा सन् २०१० मा सुरु गरेका थिए र विभिन्न ६ वटा टिममा खेलिसकेका छन्। तर शतक बनाउने सपना भने २०२५ सिजनमा आएर मात्र पूरा भएको हो।
आईपीएलमा हालसम्म ९ वटा दाजुभाइको जोडीले सहभागिता जनाइसकेको भएपनि यो कीर्तिमान कसैको नाममा बनेको थिएन । अस्ट्रेलियाका माइक र डेभिड हस्सी, भारतका युसुफ र इरफान पठान, हार्दिक र क्रुनाल पाण्ड्या, दीपक र राहुल चहर, इंग्ल्याण्डका टम करान र साम करान, दक्षिण अफ्रिकाका एल्बी र मोर्ने मोर्केल, डुआन यानसेन र मार्को यानसेन, न्युजिल्याण्डका ब्रेन्डम म्याकलम र नेथन म्याकलम ।
मार्श दाजुभाईसँगै उनका बुबा पनि अस्ट्रेलियाका पूर्वक्रिकेटर हुन् जसले विश्वकप पनि जितेका छन् । शन मार्शले भने सन् २०१९ को विश्वकप खेलेपनि उनी चोटग्रस्त भए र अस्ट्रेलिया पनि सेमिफाइनलबाट बाहिरिएको थियो ।मिचेल मार्शले अस्ट्रेलियाका लागि सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप तथा सन् २०२१ को टी-२० विश्वकप जितेका छन् ।