Above Article Ad
  • प्रसाईंसँगै भागेका दुई जनाको बयान : दाइलाई बीएण्डसीमा छाडेर आएका थियौं

    Above Article Content Ad
  • काठमाडौं-शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं भक्तपुर, सिन्धुली हुँदै झापासम्म पुगेको प्रहरीले फेला पारेको छ ।

    तीनकुनेमा प्रहरीलाई पेलेर गाडी हुइँक्याउँदै निषेधित क्षेत्र तोडेका प्रसाईंलगत्तै सुरक्षाकर्मीको नियन्त्रणमा आएका थिए । उनको बागमती प्रदेश ०२७ च ३८४७ नम्बरको गाडीसमेत प्रहरीले बरामद गरेको थियो ।

    Article inline ad #1
  • तर, प्रसाईंलाई प्रहरी कार्यालयतिर ल्याउने क्रममा भिड बढ्न थाल्यो र उनलाई सुरक्षागार्ड दिपक खड्का आफूतिर तान्न सफल भएका थिए । त्यसपछि प्रसाईं तीनकुनेबाट पेरिसडाँडा जाने बाटोमा सटरभित्र लुकेका थिए ।

    Article inline ad #2

    प्रसाईं सटरबाट निस्किएर अपराह्न ३ः२६ बजे बीएबी ४२०८ नम्बरको गाडीमा पेरिसडाँडा जाने बाटो हुँदै प्रदर्शनस्थलबाट निस्किएका थिए । त्यसपछि फरार भएका उनको यो गाडी प्रहरीले मोरङमा फेला पारेको छ । गाडीमा बसेका दुई जनालाई भने प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।

    प्रहरी स्रोतका अनुसार, पक्राउ पर्नेमा गाडी धनी मुकुन्द दाहाल र चालक ईश्वर विक छन् । प्रसाईं चढेको गाडीको फोटो सार्वजनिक भएपछि प्रहरीले यसका सञ्चालकलाई ट्र्याक गरेको थियो ।

    त्यसक्रममा दाहाललाई इटहरीबाट उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले समातेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । विक पनि त्यहीँबाट समातिएका थिए ।

    ‘शुक्रबार बेलुकीसम्म उनलाई समात्ने भन्ने स्पष्ट आदेश थिएन, त्यसैले उनले मौका पाए’, एक अनुसन्धान अधिकृत भन्छन्

    प्रसाईं चढेको गाडी भने दाहालले मोरङस्थित आफ्नो ससुरालीमा लगेर राखेको पाइएको प्रहरी स्रोतले अनलाइनखबरलाई बताएको छ । ‘त्यो गाडी पनि बरामद गरेका छौं’, स्रोतले भन्यो ।

    काठमाडौं ल्याएपछि पक्राउ परेका दाहाल र विकले आफूहरूले प्रसाईंलाई त्यहाँबाट सिधै झापा लगेको बयान दिएका छन् । ‘बिहान साढे ५ बजेतिर उनीहरूले बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजमा पुर्‍याएको भनेका छन्’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यहाँ छाडेर दुई जना इटहरीतिर फर्किएको बयान दिएका छन् ।’

    अस्पतालमा कार्यरत एक जना कर्मचारीले समेत प्रसाईंलाई त्यहाँका गार्डहरूले ‘स्ल्युट’ गरेको देखेको भनेका छन् ।पक्राउ परेका दुई जनालाई भने काठमाडौं ल्याएर अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर, भद्रकालीको जिम्मा लगाएको छ ।प्रहरीले दुवै जनालाई प्रहरीले मुलुकी अपराध संहितामा रहेको आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट म्याद लिएको छ ।

    बीएण्डसीबाट कहाँ गए प्रसाईं ?

    अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचका क्रममा उनी बीएण्डसीमा केही समय बसेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारततिर बसेको हुनसक्ने देखिएको छ ।

    ‘खुला सीमा छ, पारि जानलाई मेची पुल मात्र एक्लो विकल्प होइन’, जिल्ला प्रहरी कार्यालय, झापाका एक अधिकृतले भने, ‘त्यस्तोमा उनी कुनै बाटोबाट पारि पुगेको हुनसक्छ ।’

    शुक्रबार बेलुकी मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चारै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा ब्रिफिङ लिएका थिए । लगत्तै प्रहरी प्रधान कार्यालय, नक्साल र सशस्त्र प्रहरी बल, हल्चोकले सीमा जोडिएका जिल्लाहरूमा अतिरिक्त सुरक्षाकर्मी समेत खटाएर निगरानी गर्न आदेश दिएको थियो ।

    ‘बारा, पर्सा, चितवन, रौतहट, कपिलवस्तु, नेपालगञ्ज लगायतका जिल्लाका सीमामा विशेष निगरानी गर्न भनिएको थियो’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यसअनुसार सुरक्षा व्यवस्था एकदमै कडा पारेका थियौं ।’

    प्रहरीले त्यसबेला मधेशका जिल्लाहरूमा विशेष प्राथमिकता दिए पनि प्रहरीलाई छक्याएर उनी सहज बाटो हुँदै झापा गएको पाइएको छ । प्रहरीले शनिबार बीएण्डसीमा समेत टोली पठाएको थियो । यद्यपि, त्यसअघि नै उनी भागिसकेको फेला परेको छ ।

    ‘शुक्रबार बेलुकीसम्म उनलाई समात्ने भन्ने स्पष्ट आदेश थिएन, त्यसैले उनले मौका पाए’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘अब भारत नै प्रवेश गरेको भए पनि समातेर ल्याउँछौं ।’

    प्रसाईंले आफ्नो मोबाइल काठमाडौंको गैरीगाउँमै स्वीचअफ गरिसकेका थिए । त्यही बीचमा प्रसाईंले आफूलाई पक्राउ गर्ने सूचना पाएको भन्दै साँझ ६ः४५ मा फेसबुकमा स्ट्याटस लेखेका थिए, ‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ, त्यहीँ आउँछु ।’

    त्यो भिडियो उनले काँकड्भिट्टा नाका पारि पानीट्यांकी वा नक्सलबाडी क्षेत्रमा खिचेको हुनसक्ने आशंका गरिएको छ

    त्यतिञ्जेल उनी घरतिर जाने बाटोमा थिए । केन्द्रीय प्रहरी प्रवक्ता दिनेशराज आचार्यले सामाजिक सञ्जाल फेसबुक नेपालमा दर्ता नहुँदा कतिपय व्यक्तिगत विवरणहरू लिन समेत कठिनाइ भएको बताएका छन् ।

    को–को थिए प्रसाईं चढेको गाडीमा ?

    प्रसाईं चढेको स्कर्पियोको अघिल्लो सिटमा गाडी धनी मुकुन्द दाहाल थिए भने चालक ईश्वर विक थिए । दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पछाडिपट्टी दुर्गा प्रसाईं र उनका सुरक्षागार्ड दिपक खड्का बसेका थिए ।

    स्रोतका अनुसार, त्यसपछाडि प्रसाईंको नागरिक प्रतिरक्षा बल (पीडीएफ) का संयोजक दुरेन राई बसेका थिए । उनी झापाको कमल गाउँपालिका–४, सितापुरीका स्थायीवासी हुन् । यसअघि पनि भड्काउ आन्दोलन गर्न लागेको आरोपमा उनलाई झापा प्रहरीले पटकपटक पक्राउ गरिसकेको छ ।

    गाडीमा अर्का एकजना नाम नखुलेका व्यक्ति समेत भएको खुलेको छ । यद्यपि, प्रहरीले पहिचान गरिसकेको छैन । दुवैको खोजी भइरहेको छ ।

    प्रसाईंले आइतबार दिउँसो १ः१२ बजे छापामार शैलीमा एउटा भिडियो सन्देश समेत सार्वजनिक गरेका थिए, त्यसमा उनले आफू काठमाडौंकै एक मन्दिरमा रहेको दाबी गरेका थिए ।

    आफूलाई सरकारले गोली हान्न लागेको थाहा पाएपछि सुरक्षित स्थानमा हिँडेको दाबी गरेका प्रसाईंको पृष्ठभूमिमा नेपालीमा बोल्दै गरेको समेत सुनिन्छ । त्यो भिडियो उनले काँकड्भिट्टा नाका पारि पानीट्यांकी वा नक्सलबाडी क्षेत्रमा खिचेको हुनसक्ने आशंका गरिएको छ ।

    सीमा क्षेत्रमा नेपाली भाषीको बाहुल्य छ । आसाम, सिक्किम, मणिपुर लगायतका क्षेत्रबाट बसाइँ सरेकाहरूको पनि त्यहाँ बसोबास छ । ‘ठ्याक्कै त्यहीँ भन्ने त अझै यकिन भइसकेको छैन, तर उनले पारिपट्टी पुगेर त्यो भिडियो खिचेको जस्तो देखिन्छ’, उच्च सुरक्षा स्रोतले अनलाइनखबरसँग भन्यो ।

    उनले नाका कटेको यकिन भएपछि प्रहरीले भारतीय सुरक्षा संयन्त्रसँग समेत समन्वय गरिरहेको छ ।प्रसाईंको खोजीका लागि अहिले प्रहरीको विशेष ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय लगायतको टोली परिचालित छन् ।

    प्रसाईं ‘जनकमाण्डर’ तोकिएको शुक्रबारको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु र २० जना प्रहरीको गोलीबाट घाइते भएका छन् । प्रहरीले यसमा संलग्न रहेको आरोपमा राप्रपाका नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतका व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by