
किन आफ्नै नेतासंग जंगिए नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापती गोपी उपाध्याय
पुनर्वास- नेपाली काङ्ग्रेस कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती गोपी प्रसाद उपाध्याय पार्टीका नेताहरुको चालचलन प्रती दिक्क भएका छन् ।
आफ्नै निर्वाचित नेताहरुबाट दिक्क भएपछी सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत क्षेत्रीय सभापती उपाध्यायले जनताको आवाज नसुन्ने तर पुजीपति दलालीबाट कमिशनको पछि लाग्ने गरेको कुरा उल्लेख गरेका हुन् ।
आफ्नो भन्दा समाज परिवर्तनका लागि जनताकै पक्षमा उभिने जनप्रीय नेताका रुपमा उपाध्यायलाई चिन्ने गरिन्छ । निस्वार्थ रुपमा पार्टीकै संगठन बलियो बनाउन क्षेत्रीय सभापती उपाध्यायले २०५३ सालमा नेविसंघको जनज्योती क्याम्पस कलकत्ताको ईकाई कमिटी सभापतिबाट राजनिती यात्रा सुरु गरेका थिए । त्यस्तै २०५७ मा सिद्धनाथ साईन्स क्याम्पसको स्ववियु सभापती, २०६२/६३ को जनआन्दोलनमा घाईते भइ तत्कालीन महाकाली अञ्चल अस्पतालको बेडमै रहेका बेला नेविसंघ कंचनपुर जिल्लाको सभापतिमा पार्टीले जिम्मेवारी सुम्पिएको थियो । त्यसपछी नेविसंघ केन्द्रिय सदस्य, अत्याधिक मतका साथ नेपाली काङ्ग्रेस कंचनपुर जिल्ला सदस्यमा निर्वाचित, १३ औं र १४ औं महाधिवेशनमा कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट दुई पटक बहुमतका साथ क्षेत्रीय सभापतिमा विजयी भएका थिए । नेविसंघ जिल्ला सभापती भएका बेला राजा विरुद्ध प्रतिगमनमा उत्रीदा कंचनपुरकै कारागारमा ६ महिना जेल जीवन बिताएका उपाध्याय जिल्लाकै कोईराला पक्षधरका बलिया नेताका रुपमा मानिन्छन् ।
साईन्सबाट एमएसी उत्तीर्ण गरेका उपाध्यायलाई राजनीतिका दौरानमा थुप्रै अवसर नआएका भने हैनन । तर राजनीतिबाटै जनताका हरेक समस्याको समाधान गर्न निरन्तर निस्वार्थ जनताको सेवामा लाग्नुपर्छ भन्ने भावनालाई आत्मसात गर्दै निरन्तर अगाडि बढ्दै रहे । जनताकै सेवाका लागि चुनावी नारा बोकेर जनताकै मतबाट निर्वाचित नेपाली काङ्ग्रेसका नेताहरु कमिशनका पछि देखिएको कुरा उनको स्टाटसबाट प्रष्ट हुन सकिन्छ ।
उनले फेसबुकमा लेखेका छन् “जनताद्वारा जनताका लागि चुनिएका हु भन्नेहरुले गरिब जनताको आवाजलाई सुन्नु भन्दा दलाल पुजिपति कमिसनखोर मन्त्रालयमा आएर कमिसन बुझाउनेको कुरा मात्र सुन्ने भए हामी पार्टिका तल्लो निकायका मान्छेको के काम, गर दलालहरु अर्को चुनावको लागि पैसा असुल गर हामी आज देखि कुनै सम्पर्क गर्दैनौ । जय नेपाल”

उनले जनताका समस्याका विषयमा अवगत गराउदा नेताहरु आफ्नो फोन समेत नउठाउने गरेको आरोप लगाएका छन् । उनले आफुले कमजोरी भन्नु भन्दा पनि जनतालाई बेकुफ बनाएर राजनीति गर्ने नेताको जनताले नै मुल्यांकन गर्ने बताए । विपन्न परिवारमा जन्मिएका उपाध्याय बेलौरीको शिवनगरमा बस्छन् भने परिवारकै बेवास्ता गरि जिवनको करिब तीन दशक समयदेखि समाज रुपान्तरणकै लागि नेपाली काङ्ग्रेस पार्टीमा सक्रिय नेताका रुपमा आवद्ध छन् ।















