
लालझाडीमा दम्पती हत्यामा दुई दर्जन बढीसँग सोधपुछ,प्रहरी अनुसन्धान जारी
धनगढी । कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दुई दर्जन बढीलाई सोधपुछ गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका १ बिनबारीका स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
दम्पतीले बिहीबारमात्रै बैंकबाट पैसा निकालेका थिए । प्रहरीका अनुसार हिजै रमेशले कैलाली र कञ्चनपुरबाट उखुको अनुदान रकम निकालेका थिए । सोही रकमका कारण दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको थियो, तर उक्त रकम घरमै भेटिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले केही दिनभित्रै घटनामा संलग्न पक्राउ गर्नेगरी अनुसन्धान गरिरहेको बताए । उनले कल डिटेल रेकर्ड सीडीआर मार्फत समेत अनुसन्धान भइरहेको बताए । सीडीआरबाट पनि अनुसन्धान भइरहेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सूक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।
‘गर्मीका कारण उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए । एक्कासि घटना भएको देखिन्छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘घटना प्रकृति हेर्दा पहिले श्रीमतीलाई हानेर श्रीमानमाथि आक्रमण भएको देखिन्छ ।
कमलाको शव सुत्ने खाट नजिकै बरण्डामा रगताम्मे अवस्थामा थियो । रमेशको शव आँगनमा थियो । ढलेको थियो । टाउकोबाट अत्यधिक रगत बगेको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
प्रहरी अधिकारीका अनुसार रमेशको चोट हेर्दा उनले आक्रमणकारीसँग केहीबेर प्रतिवाद गरेको देखिन्छ । प्रहरीले हत्या भएको आशङ्का गरे पनि हत्यामा प्रयोग भएका हतियारहरू अझै बरामद भएको छैन ।