बेलौरीका वडाध्यक्ष ढकालको पुण्य काम, ज्येष्ठ नागरिकहरू सहितका तिर्थयात्रीलाई कागबेनी र मुक्तिनाथको दर्शन
मुस्ताङ, ०५ कार्तिक । कञ्चनपुरको बेलौरीका तीर्थयात्री ज्येष्ठ नागरिकहरू सहितको टोलीद्वारा मुस्ताङका कागबेनी र मुक्तिनाथको दर्शन गरिएको छ ।
आइतबार दिउँसो कागबेनी पुग्नु भएका तीर्थयात्रीहरूले त्यहाँ रहेको धर्मशालामा भोजन र रात्रि बास गर्नु भएको थियो । उहाँहरूले सोमबार बिहान कागबेनी तीर्थस्थल कालीगण्डकीमा स्नान गरेर तीर्थ श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्नुभएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ को कार्यालयको वार्षिक स्वीकृत ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको रु. २ लाख ५० हजार बजेटमा ज्येष्ठ नागरिकहरूलाई मुक्तिनाथ सम्मको तीर्थयात्रा गराइएको वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा भित्रका ६८ वर्ष देखि १०२ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरू मध्ये २५ जना ज्येष्ठ नागरिकहरूलाई तीर्थ यात्रामा लगिएको हो । तीर्थयात्रामा ज्येष्ठ नागरिकसँगै स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार र स्वयंसेवक समेत गरी ३५ जनाको सहभागिता रहेको छ ।
तीर्थयात्री ज्येष्ठ नागरिकहरूले दशकौँदेखि मुक्तिनाथसम्मको यात्रा गर्ने सोच बनाए पनि अहिले वडा कार्यालयले तीर्थयात्रा गराएकोमा निक्कै खुसी व्यक्त गर्नुभयो । उहाँहरूले वडाका जनप्रतिनिधिहरूलाई धन्यवाद स्वरूप आशीर्वाद पनि दिनुभएको छ ।
शुक्रबार दिउँसो बेलौरीबाट तीर्थयात्रा सुरु गरिएकोमा शनिबार कास्कीको पोखरा स्थित तालबाराही र म्याग्दीको बेनी स्थित गलेश्वर महादेव मन्दिरको दर्शन गरिएको थियो । आइतबार बिहान तातोपानीमा स्नान गरेर तीर्थयात्रीहरूको टोली कागबेनीका लागि प्रस्थान गरेको थियो । सोमबार कागबेनी र मुक्तिनाथको दर्शन गरेर उक्त टोली फर्किएको छ । फर्किने क्रममा पनि विभिन्न धार्मिक स्थलहरूको दर्शन गराइने वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो ।