खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने
धनगढी । ‘धर्तीको स्वर्ग’ उपमाले चिनिएको सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ।
खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही २३ जेठदेखि तीनसम्म आध्यात्मिक सम्मेलन हुन लागेको हो। सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ भने सम्मेलनमा स्वामी रामदेवले योगाभ्यास र ध्यान गराउने तथा प्रवचन दिने तय भएको छ।
आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जनालाई सहभागी गराउने आयोजक खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको बताए। सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको उनले बताए।
प्रधानमन्त्रीले सम्मेलन उद्घाटन गरेपछि योगी रामदेवले ध्यान गराउनुका साथै प्रवचन दिने कार्यक्रम रहेको छ। आयोजकका अनुसार सम्मेलनका क्रममा खप्तडको पौराणिक र आध्यात्मिक पक्षका विषयमा कार्यपत्र प्रस्तुत गरिने छन्। सम्मेलनमार्फत खप्तडको आध्यात्मिक र संस्कृति छिमेकी मुलुक भारतसहित विश्वभर पुगाउन मद्दत पुग्ने कार्यकारी निर्देशक खड्काले बताए। भारतीय पर्यटकमात्र खप्तड भित्र्याउन सके पर्यटनमार्फत् सुदूरपश्चिमको विकासमा टेवा पुग्ने उनले बताए।
‘खप्तड पुग्ने पर्यटकको संख्या अहिले पनि कम छ। तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा ३३ जना विदेशी पर्यटकमात्र खप्तड पुगेका छन्। खप्तडको प्राकृतिक सुन्दरता, पौराणिक र धार्मिक महत्वको प्रचारप्रसार गर्न सके विदेशी पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायीहरु बताउँछन्।