पुनर्वास नगरपालिका–५मा नवनिर्मित कालोपत्रे सडकको अनुगमन
पुनर्वास १९ पौष– कञ्चनपुरको पुनर्वास नगरपालिका–५, प्रगति चोक देखि पश्चिममा नवनिर्मित कालोपत्रे सडकको नगरपालिकाबाट अनुगमन गरिएको छ ।
पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुमारी रानाको अगुवाईमा प्राविधिक सहितको टिमले सोमबार स्थलगत अनुुगमन गरेकोे हो ।
अनुगमनका क्रममा नवनिर्मित कालोपत्रे बाटो गुणस्तरीय नभएको स्थानीयले गुनासो गरेका छन । गुनासो गरेपछि नगर उपप्रमुख भुलिया रानाले केहि कमसल जस्तो देखिएको छ, ल्याब टेस्टको रिर्पोट पनि हेर्छौ, कमसल देखिए मर्मत सम्भार गर्न लगाईने नगरिए समझौता अनुसारको बाँकी रकम भुक्तानीमा रोक लगाईने बताईन ।
त्यस्तै नवनिर्मित कालोपत्रे सडक सन्तोषजनक निर्माण नभएको पुनर्वास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर रोकायाले बताए । कमसल मसालाका कारण अहिलेदेखि नै मसिनो गिट्टी उप्किन सुरु भएको छ भने कतिपय स्थानमा थप टालटुल गरि निर्माण गरिएको उनले बताए ।
गिट्टीका ग्यापहरुमा बालुवा र जिरा भुटेर हाल्नुपथ्र्यो, ठेकेदारले बदमासी गर्नथालेपछि हामीले त्यो रोकेका थियौ । नहालेका कारण पनि उप्किएको जस्तो देखिएको हो । बिग्रिएको ठाँउमा मर्मत गर्न लगाउँछौ नगरपालिकाका प्राविधिक लालमन तामाङले भने ।
पुनर्वास नगरपालिकाको गत आर्थिक बर्षको बिनियोजित बजेटको २५ लाख रकममा २ सय ८० मिटर लम्बाई तथा साँढे पाँच मिटर चौडाई स्टिमेट भएको उक्त कालोपत्रे सडक पुनर्वास नगरपालिका २ मा रहेको दाउत निर्माण सेवा कम्पनीले निर्माणको जिम्मेवारी पाएको थियो ।