
बडीमालिका दर्शन गरेर फर्किएका दुई पर्यटक सम्पर्कविहीन
धनगढी – बाजुराको बडीमालिका दर्शन गरेर फर्किने क्रममा भारी हिमपातमा परेका दुई पर्यटक सम्पर्कविहीन भएका छन्। शुक्रबारदेखि वर्षासँगै हिमपात भएपछि कञ्चनपुरका मनिष बोहरा र सागर कार्की सम्पर्कविहीन भएका हुन् ।
असोज ९ गते बाजुराको सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । टोलीमा रहेका पूर्वका तीन जना दर्शन गरेर फर्किसकेका छन्। मनिष र सागर भने फर्किने क्रममा छुट्टिएका थिए ।
प्रहरीका अनुसार शुक्रबारदेखि मनिषसँग सम्पर्क हुन सकेको छैन। सागरले भने फोन सम्पर्कका क्रममा बडीमालिकाबाट फर्किने बेला साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको जानकारी गराएका थिए । त्यसपछि सागरसँग पनि सम्पर्क हुन नसकेको प्रहरी निरीक्षक शाहीले बताए ।
“सागरसँग हिजो फोनमा कुरा हुँदा फर्किने क्रममा साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको बताएका थिए,” शाहीले भने, “भारी हिमपातका कारण उनीहरू अलपत्र परेको देखिन्छ । अहिले मोबाइलसमेत अफ छ ।”
समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा हिमपात भएपछि उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । जिल्लामा शुक्रबारदेखि वर्षासँगै बडीमालिकालगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
सम्पर्कविहीन दुवै पर्यटकको खोजी तथा उद्धारका लागि सदरमुकाम मार्तडीबाट प्रहरी टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रतिकूल मौसम र बाक्लो हिउँका कारण उनीहरू रहेको स्थानसम्म पुग्न कठिनाइ भइरहेको छ ।















