
प्रहरीले सबै प्रदेशका डीआईजीलाई काठमाडौं झिकायो, हेडक्वार्टरमा पीसीसी बैठक जारी
काठमाडौं –सरकारले प्रहरी प्रमुखसहित केही उच्च अधिकारीलाई पदमुक्त गर्ने चर्चा चुलिएसँगै प्रहरी हेडक्वार्टरले उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका एआईजीसहित सातवटै प्रदेशका प्रमुखको जिम्मेवारीमा रहेका डीआईजीलाई नक्सालस्थित प्रहरी हेडक्वार्टरमा झिकाएको छ ।
प्रहरीस्रोतका अनुसार संगठनको चेनअफ कमाण्ड र शान्तिसुरक्षा व्यवस्थापनका गम्भीर विषयहरु नै प्रभावित हुने गरी मिडिया ट्रायल हुन थालेपछि त्यसले पार्ने असरबारे ठोस नीति तय गर्न उपत्यकासहित प्रदेशका प्रहरी प्रमुखलाई हेडक्वार्टरमा झिकाईको हो ।
उनले कुन विषयमा र के कारणले बोलाइएको भन्नेबारेमा कुनै जानकारी नभएको बताएका छन् ।
प्रदेशका प्रहरी प्रमुख हेडक्वार्टर पुग्नुअगावै पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) को बैठक चलिरहेको छ ।
आईजीपीको अध्यक्षतामा बस्ने उक्त बैठकमा हेडक्वार्टरसहित काठमाडौं उपत्यकामा कार्यरत एसएसपी तहसम्मका अधिकृत सहभागी हुन्छन् । उक्त बैठक जारी रहेको प्रहरीस्रोतले जनाएको छ ।
प्रहरीप्रतिको जनविश्वासमा आँच आउने र प्रहरीले जनतासँग गर्नुपर्ने सघन सहकार्यमै बाधा पुग्ने गरी हुने हस्तक्षेप वा चलखेल स्वीकार्य नहुने भन्दै प्रहरीले आफ्नो सक्रियता बढाएको स्रोतको भनाइ छ ।
नेपाल प्रेसलाई प्राप्त जानकारीअनुसार डीआईजीमध्ये कोशीका शेखर खनाल केही दिनदेखि बिदाका क्रममा काठमाडौंमै थिए ।
मधेशका डीआईजी ओमप्रसाद अधिकारी कार्यालयको कामका सिलसिलामा केही दिनदेखि काठमाडौंमा छन् ।
बागमतीका डीआईजी दीपक रेग्मी, लुम्बिनीका भूपेन्द्रबहादुर खत्री, कर्णाली जयराज सापकोटा र सुदूरपश्चिमका सानुराम भट्टराई हवाई मार्ग हुँदै काठमाडौं आइरहेका छन् ।















