
पहिरोले बाजुराका १६ घरधुरी जोखिममा
बाजुरा-लगातारको वर्षापछि आएको पहिरोले बाजुराको बडिमालिका नगरपालिका–९ सेलागाडका १६ घरधुरी जोखिममा परेका छन्। पहिरोका कारण घरभित्र पानी पसेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार बिहान करिब ४ः३५ बजे घरमाथिबाट पहिरो खस्दा १६ घरधुरी प्रभावित भएका हुन्। घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुरा र सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर गुल्म बाजुराबाट खटिएको टोलीले प्रभावित परिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य सरसामान सुरक्षित स्थानमा सारेको जनाएको छ।
प्रहरीका अनुसार प्रभावितमध्ये तीन घरधुरी उच्च जोखिममा रहेका छन् भने अन्य १३ घरधुरी जोखिममा छन्। उच्च जोखिममा रहेका तीन घरमा बसोबास गर्न नमिल्ने अवस्था रहेको छ। ती घरमा २२ जना बसोबास गर्दै आएका छन्। जोखिममा रहेका अन्य १३ घरधुरीमा ८३ जना परिवारका सदस्य छन्।
पहिरोको त्रासका बीच स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती बेहोस भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको प्रहरीले जनाएको छ। घटनामा अन्य कुनै मानवीय वा चौपाया क्षति भएको छैन।
यस्तै, पहिरोका कारण बडिमालिका नगरपालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरमा पनि क्षति पुगेको छ। नहरको २०० एमएम क्षमताको २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर बगाएको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा निगरानी बढाएको छ भने थप वर्षा हुने सम्भावनालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।















