
बैतडी बस दुर्घटना: माया मेट्रो अस्पतालको आइसियुमा यी घाइतेको उपचार हुँदै
धनगढी-धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस शुक्रबार बैतडीको पाटन नगरपालिका–९ स्थित गैराखान नजिक दुर्घटनाग्रस्त हुँदा २२ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको थियो। घाइतेमध्ये १४ जनालाई धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याई उपचार भइरहेको छ भने दुई जना बाटोमा छन्। घाइते भएका एक जना डिस्चार्ज भएका छन् भने अन्य ५ जनाको अन्यत्र उपचार भइरहेको छ।
माया मेट्रो अस्पतालका जनसम्पर्क व्यवस्थापक जगत महताका अनुसार अस्पतालमा उपचाररत १४ घाइतेमध्ये ७ जनाको सघन उपचार कक्षमा तथा ७ जनाको न्युरो वार्डमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ। सबै घाइतेको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन गर्दै आवश्यक उपचार सेवा प्रदान भइरहेको उनले जानकारी दिए।
माया मेट्रो अस्पतालमा उपचाररत घाइतेहरू जनक पन्त (४५ वर्ष), रामदत्त पाण्डेय (८० वर्ष), मोहन पन्त (३३ वर्ष), धना पहारी (४० वर्ष), दीपक बिक (३० वर्ष), दिनेश भट्ट (३२ वर्ष), सिद्धार्थ भण्डारी (११ वर्ष), रमेश महार (४० वर्ष), दीपा महार (३० वर्ष), अरुण महार (३ वर्ष), माया बिष्ट (२० वर्ष), जनकराज जोशी (२६ वर्ष), रत्ना भण्डारी (३१ वर्ष) र अनुग्रा ठगुन्ना (५० वर्ष) रहेको अस्पतालले जनाएको छ।


























