
कंचनपुरको त्रिभुवनबस्ती प्रहरीमा नयाँ भ्यान , शान्ति सुरक्षा थप मजबुत हुने अपेक्षा
पुनर्वास -कञ्चनपुरको पुनर्वासमा रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको सेवा प्रवाह र सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कार्यालयमा नयाँ प्रहरी भ्यान थपिएको छ।
वर्षौंदेखि सवारी साधनको अभाव झेल्दै आएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा अब दुईवटा भ्यान उपलब्ध भएपछि प्रहरीको दैनिक कार्यसम्पादन गस्ती तथा आकस्मिक सेवामा उल्लेखनीय सहजता हुने प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए ।
यसअघि विभिन्न मुद्दा तथा प्रशासनिक कामका लागि भ्यान महेन्द्रनगर जानुपर्ने अवस्थामा कार्यालयमा सवारी साधन अभाव हुँदा प्रहरी सेवामा समस्या उत्पन्न हुने गरेको थियो।
त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कार्कीको पहलमा नयाँ भ्यान थपिएसँगै नियमित गस्ती, अपराध नियन्त्रण, आकस्मिक उद्धार तथा शान्ति सुरक्षा व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने स्थानीयबासी तथा सरोकारवालाहरूको अपेक्षा छ।
प्रहरी निरीक्षक कार्कीका अनुसार यसले त्रिभुवनबस्ती प्रहरीबाट हुने सेवा प्रवाहलाई द्रुत, सहज र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।















