
सुदूरपश्चिममा सम्पन्न भयो २ दिने विकास पत्रकारिता प्रशिक्षण
धनगढी-सुदूरपश्चिम प्रदेशमा विकास पत्रकारितालाई सुदृढ बनाउने उद्देश्यसहित आयोजित दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
वैशाख १० र ११ गते धनगढीको आस्था होटलमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सञ्चालित विकास पत्रकारिता सम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएको हो।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहको अध्यक्षतामा भएको प्रशिक्षण समापन कार्यक्रमको प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्नुहुँदै महासंघका पूर्वअध्यक्ष झालेले तालिममा सहभागीहरूलाई पत्रकारिताले समाजवादी दिशातर्फ उन्मुख बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पत्रकारिता कहिल्यै नमर्ने क्षेत्र भएको उल्लेख गर्दै सहभागीहरूलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना दिनुभयो।
त्यस्तै,सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले सुदूरपश्चिम विकाससँगै पत्रकारिताको विकास पनि आवश्यक रहेको बताउनुभयो।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष शाहले सहभागीहरूलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा देखिएका विषयवस्तुमा आधारित नभई सत्य तथ्य बुझेर मात्रै समाचार प्रकाशित गर्न सबैलाई सुझाव दिनुभएको थियो।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको प्रशिक्षण कार्यक्रमको सहजीकरण र सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण पनि महासंघका पूर्वअध्यक्ष झाले नै गर्नुभएको थियो।















