
डडेल्धुरा घर भएका ट्राफिक प्रहरी प्रेम लुहारलाई फागुन महिनाको उत्कृष्ट अवार्ड
काठमाडौँ -ट्राफिक प्रहरी प्रभाग एयरपोर्टमा कार्यरत प्रहरी जवान प्रेम लुहारलाई २०८२ साल फागुन महिनाको “बेस्ट ट्राफिक पुलिस अफ द मन्थ” घोषणा गरिएको छ।
डडेलधुराको जोगबुडा, परशुराम नगरपालिका–४ घर भएका लुहार एक वर्षअघि मात्र ट्राफिक प्रहरी सेवामा प्रवेश गरेका हुन्। छोटो समयमै उनले आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्दै उक्त सम्मान हासिल गरेका छन्।
लुहारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई प्रभावकारी रूपमा कारबाही गर्दै आएका छन् भने आफ्नो कार्यक्षेत्रमा सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
त्यस्तै, उपत्यकामा हुने विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरूको सवारी व्यवस्थापनमा समेत उनले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। ट्राफिक दुर्घटना न्यूनीकरण, सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि तथा परिणाममुखी सेवा प्रवाहमा उनको योगदान प्रशंसनीय रहेको छ।
यसका साथै, उनले गरिब, विपन्न तथा असहाय नागरिकहरूलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्व पनि प्रभावकारी रूपमा पूरा गरेका छन्।
अनुशासित, पारदर्शी र विवादरहित कार्यशैलीका कारण उनको कार्यसम्पादन उत्कृष्ट ठहरिँदै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।















