
आज तराई मधेशमा तातो हावा चल्ने, देशभर गर्मी बढ्दै
काठमाडौं -अधिकतम र न्यूनतम तापक्रमको वृद्धिसँगै केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । आज तराई मधेशका जिल्ला, उपत्यका र खोँचहरुमा तातो हावा चल्ने प्रक्षेपण छ ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा लेखिएको छ, ‘मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा तातो दिन हुने सम्भावना रहेको छ ।’
आज दिउँसो धनगढी, दिपायल र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण छ । यसैगरी घोराही र भैरहवामा ३६ देखि ३८ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।
मौसमविद सन्जिव अधिकारीका अनुसार अन्य ठाउँहरुमा पनि गर्मी बढ्ने सम्भावना देखिएको छ ।
मंगलबार पनि कोशी बाहेकका प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान छ । त्यसैले गर्मीको बेला अनावश्यक रुपमा घरबाहिर ननिस्किन, प्रशस्त पानी पिउन र शरीर छोपिने खालका कपडा लगाउन विज्ञहरुले सुझाव दिएका छन् ।
















