
उपत्यका ट्राफिक प्रहरीले सडक दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ । सड्क दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा बिहीबार दीप प्रज्वलन गरिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारी र एसपी नरेश सुवेदी सहितका प्रहरी अधिकृतहरूले दीप प्रज्वलन गरेर सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरूलाई स्मरण गरे । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह मनाइरहेको छ । आज सप्ताहको छैटौँ दिन हो ।
लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटनामा परेर अकालमा मृत्यु हुने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बताए । उनले भने, ‘मृत्यु हुनेको परिवारका सदस्यहरू प्रताडनामा बाँचिरहेका छन्, घाइतेहरूको अवस्था उस्तै नाजुक छ ।’
चालकले थोरै मात्र सावधानी अपनाए पनि दुर्घटना न्यूनीकरण गर्न सकिने एसएसपी अधिकारीले बताए । एसएसपी अधिकारी र एसपी सुवेदीले बिहीबार दुर्घटनामा परेर घाइते भएकाहरूलाई अस्पतालमा गएर भेटेका थिए ।















