
सुदूरपश्चिमभरि भिटौला पर्व सुरू
धनगढी –चैत महिना सुरू भएसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रूपमा प्रचलित छ ।
पाटन नगपालिका–१० का जानकी भट्टका अनुसार अहिले भिटौला पर्वको महत्त्व झन बढ्दै गएको छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ । होली पर्वको महत्त्वजस्तै सुदूरपश्चिममा यो पर्वको चलन निरन्तरता भइरहेको छ । “अरू संस्कृति बरू छोड्दै गएको पाइन्छ”, उनले भनिन, “तर यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसुस गर्ने गर्छन् ।”
पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरीचेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको संस्कृतका जानकार मुरलीधर अवस्थी बताउँछन् ।
चैतमा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्त्व अझै गाउँघरतिर घटेको छैन । यो महिनाभर एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने विश्वास रहिआएको छ ।















