
प्रधानमन्त्री ओलीमाथि लगाए भीम रावलले पाँच आरोप
काठमाडौं – नेकपा एमालेका पूर्वनेता एवं ‘मातृभूमि जागरण अभियान नेपाल’का अभियन्ता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्माले ओलीले मुलुकमा ‘कुशासन’ गरिरहेको आरोप लगाएका छन् ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले कुरा सुशासनको गर्ने तर काम कुशासनको गरिरहेको आरोप लगाउँदै रावलले सामाजिक सञ्जालमा लेखेका छन् :
सुशासनका कुरा गर्ने प्रधानमन्त्री केपी नेतृत्वमा कुशासनका पछिल्ला उदाहरण :
–सरकार बनेको सात महिना भइसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगर्नु
–राज्यका विभिन्न पदहरू भागबन्डा गर्नु
– पूर्वविशिष्टहरूलाई आजीवन भत्ता र सुविधा बढाउने प्रयास गर्नु
– राष्ट्रिय निकुञ्ज र वन क्षेत्रसमेत व्यक्तिलाई दिक्किने कानुन ल्याउने दुष्प्रयत्न गर्नु
– प्रम केपीका एक समयका आर्थिक सल्लाहकार, राज्यमन्त्री र एमाले उद्योग विभाग प्रमुखले राज्यको कर नतिर्नु
प्रधानमन्त्री ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार दुगडले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायिक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो । यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको पनि नाम समावेश छ । दुगड एसियन केमिकल कम्पनीको आयकर तिरिएको छैन । ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको कार्यालयले जनाएको छ । सूचना प्रकाशित भइसकेपछि ह्यारिसन प्यालेसको कर भने तिरिएको छ । अन्य कम्पनीको भने दुई वर्षदेखि कर दाखिला भएको छैन ।
पूर्वसांसद समेत रहेका दुगदलाई ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । ओलीको पछिल्लो कार्यकालमा भने दुगडले कुनै जिम्मेवारी पाएका छैनन् ।















