
सुदूरपश्चिमका यादव सिंहले गरे अखिल (क्रान्तिकारी) को उपमहासचिव पदका लागि उम्मेदवारी घोषणा
काठमाडौं: नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को आगामी आन्तरिक निर्वाचनमा सुदूरपश्चिम प्रदेशका यादव सिंहले उपमहासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। प्रचण्ड निकट मानिने यादव सिंहले आफूलाई संगठनको बलियो प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरेका छन्।
यादव सिंहले संगठनको विकास र सुदृढीकरणका लागि स्पष्ट एजेन्डा अघि सारेका छन्। उनका अनुसार संगठनलाई देशभर प्रभावकारी बनाउन, विद्यार्थीहरूको हकहितका लागि सशक्त कदम चाल्न र गुटबन्दी अन्त्य गर्न उनले नेतृत्व गर्ने बताएका छन्। उपमहासचिव पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन्। तर अन्तिम चरणमा तीन मुख्य प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
जसमा भुवन सिंह बिष्ट (जनार्दन शर्मा निकट), धुर्व रावल (वर्षमान पुन निकट), यादव सिंह (संस्थापक प्रचण्ड निकट) बीच प्रतिस्पर्धा आकलन गरिएको छ।
यादव सिंहको विद्यार्थी राजनीति पुनर्वासको विजय मावि कक्षा ८ बाट सुरु भएको हो। उनले आफ्नो निर्वाचन क्षेत्रमा अखिल (क्रान्तिकारी) को संगठन स्थापना गर्दै तीन क्याम्पसमा स्ववियु निर्वाचनमा प्रभाव जमाएका छन्। दुई क्याम्पसमा विजय हासिल गर्न सफल यादव सिंहले स्थानीय निर्वाचनमा पनि आफ्नो वडा जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उनलाई संगठन निर्माणमा दक्ष, इमानदार, र अग्रपंक्तिमा खटिने नेताका रूपमा उनका सहकर्मीले मूल्यांकन गरेका छन्। यादव सिंहको लोकप्रियता सुदूरपश्चिमबाट देशभर फैलिएको बताइन्छ।
यादव सिंहले आफ्नो लोकप्रियता र नेतृत्व क्षमताका कारण निर्वाचन जित्नेमा विश्वस्त रहेको बताएका छन्। अखिल (क्रान्तिकारी) को आन्तरिक चुनाव यही माघ १२ गते हुनेछ।