काम गर्न सजिलो होला भनेर विद्यालयबाट चेक लिएकी हुँ : उपाध्यक्ष नाथ
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीको एक विद्यालयबाट ३ लाखको चेक आफ्नो नाममा लिएको आरोप लागेपछि बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथले त्यो आरोप,आरोपमै मात्र सिमित रहेको बताएकी छन् ।
बुधवार केही अनलाइनले उपाध्यक्ष नाथले विद्यालयबाट तीन लाखको चेक लिएको खुलासा शीर्षकमा समाचार प्रकाशित गरेपछि उपाध्यक्ष नाथले सत्य तथ्य नबुझेरै समाचार लेखेको दाबी गरिन् । विश्व खोजसँग कुराकानी गर्दै उपाध्यक्ष नाथले भनिन्,‘ लामो समय देखि विद्यालयको निमार्ण कार्य हुन सकेको थिएन । विद्यालय निमार्णको कार्यलाई सम्पन्न गर्न केही सहज होला भने मैले आफ्नो नामबाट चेक मागेकी हुँ । विद्यालयले निमार्णकर्तालाई विश्वास मानेन । त्यसैले मैले मेरो माध्यमबाट कसरी कामलाई अघि बढाउन सकिन्छ भनेर विद्यालयसँग छलफल गरी सो चेक मागेकी हुँ ।’
तीन लाखको चेक भवन निमार्णकर्ता विष्णुराम उपाध्यायलाई सोही समयमा दिइसकेको उनले बताइन् ।उनले काम गर्न सजिलो हुन्छ भने आफ्नो नामबाट चेक काट्न लगाएको र ठेकेदारले काम नगरे सो रकम आफैँ तिर्ने भन्दै आफ्नो नामको ३ लाखको ब्लाङ्क चेक विद्यालयलाई समेत दिएको बताइन् ।
बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको बैजनाथ माध्यमिक विद्यालयमा बन्दै गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवन निर्माण भइरहेको छ । निर्माणको जिम्मा लिएका भवन निर्माणकर्ता विष्णुराम उपाध्यायले भने सो चेक साटेर भवन निर्माणको काममा लगाएको बताए । उनले भवन निर्माणको काम अन्तिम चरणमा रहेकोले अब १० प्रतिशत काम मात्रै बाँकी रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक मोहन राज मिश्रले भवन निर्माणकर्ता विष्णुरामलाई विश्वास नमानेर उपाध्यक्ष नाथलाई सो रकमका चेक दिएको बताए । उपाध्यक्षको माध्यमबाट काम छिटो हुन्छ भनेर सो रकम दिएको र उपाध्यक्ष नाथले भवन निर्माणकर्ता उपाध्यायलाई हस्तान्तरण गरी काम गर्न लगाएको बताउँदै अहिले भवन निमार्णको काम अन्तिम चरणमा रहेको बताए ।