‘सवारी साधन दुरुपयोगबारे कार्यपालिका बैठकमा गम्भीर छलफल गर्छौ’
समाचार प्रभाव
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाले सरकारी सवारी साधन दुरुपयोग गरिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । शनिवार विश्व खोज दैनिकमा प्रकाशित समाचार ‘श्रीमानलाई ड्राइभर बनाएर सरकारी गाडीको दुरुपयोग गर्दै उपप्रमुख राना’ भन्ने शीर्षकको समाचार प्रकाशित भएपछि आइतबार नगरपालिकाले सो विषयमा ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि सबैलाई तत्कालै बोलाएर मिटिङ राख्ने र पाएको सुविधा सबैले प्रयोग गर्ने र त्यो सेवा सुविधाको दुरुपयोग कसैलाई नगर्न निर्देशन दिने बताए । यस्तै पालिकाभित्र भइरहेको सवारी साधन दुरुपयोगको विषयमा छिट्टै नै कार्यपालिकाको बैठकमा समेत छलफल गरी नयाँ निर्णय लिन सकिने बताए ।
यता नगरप्रमुख तोय प्रसाद शर्माले पनि उपप्रमुख भुलिया राना चढ्ने गाडी दुरुपयोगका विषयमा पहिलैदेखि नै गुनासो आइरहेको र आफूले पटक पटक उपप्रमुख रानालाई सुझाव दिँदा समेत अटेरी गरेको बताए । जनप्रतिनिधिहरूको आ–आफ्नो पद अनुसारको काम कर्तव्य र अधिकार हुने भएकाले कानुन बमोजिम काम गर्न सम्पूर्णलाई आग्रह गरे । उनले कुनै पनि जनप्रतिनिधिले सवारी साधनको दुरुपयोग गरे समाचार लेख्न समेत पत्रकारलाई आग्रह गरे ।
समाचार प्रभाव
शनिवार विश्व खोज दैनिकमा प्रकाशित समाचारको प्रभाव देखिएको छ । नगरकी उपप्रमुख भुलिया रानाले प्रयोग गर्दै आइरहेको गाडी विगत एक वर्षदेखि दुरुपयोग भइरहेको बारेमा विश्व खोज समाचार प्रकाशित गरेको थियो । उक्त समाचारपछि आइतबार राती रानाले उक्त गाडी कार्यालयमै फिर्ता पठाएकी थिइन् । यस अघि उनले सो गाडी रातीको समयमा आफूसँगै धनगढीमै पार्किङ गर्ने गरेकी थिइन्।
स्थानीय तहमा अनुगमन समितिको संयोजक नगर उपप्रमुख रहने व्यवस्था भए पनि उपप्रमुख रानाले राजनीतिक दम्भका आधारमा एक वर्ष देखि नगरपालिकाबाट आधिकारिक नतोकिएका आफ्नै श्रीमानलाई सरकारी गाडीको ड्राइभर बनाएर साधनको दुरुपयोग गर्दै आएकी हुन् । नगरपालिकाबाट सुविधाका रुपमा लिएको सेतो नम्बर प्लेटको बा २ झ ३०६४ नम्बरको जीप जनताको सेवा भन्दा बढी आफन्तहरू ओसारपसार गर्ने देखि भारतीय बजारमा किनमेलका लागि प्रयोग भएको पाइएको छ ।