व्यक्तिको पहुँचको आधारमा बजेट विनियोजन गरेको सांसद तामाङको आरोप
काठमाडौं । नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकताभन्दा पनि व्यक्तिको पहुँचको आधारमा बजेट विनियोजन गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिने भन्दा पनि पहुँचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे।
एमाले सांसद तामाङले अर्थमन्त्री र अर्थमन्त्रालयसँग आफ्नो निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको छोटी भन्सारलाई व्यवस्थित गरेर राजस्व संकलन कसरी संकलन गर्ने भन्ने कुनै योजना नभएको आरोप लगाए।
‘कञ्चनपुरको बेलौरी भन्सारले धेरै क्षेत्र ओगट्थ्यो। तर, त्यसलाई व्यवस्थित नगरी सेटिङको भरमा छोटी भन्सार नचलाएको भन्ने सुनेको छु। यो काम सरासर गलत हो। अर्थमन्त्रालय र अर्थमन्त्रीको यसमा ध्यान जान आवश्यक छु, सांसद तामाङले भने।
सांसद तामाङले बजेटमा सत्तारुढ दल र मन्त्रीको मनपरीको समेत विरोध गरे। उनले सहरी विकास मन्त्रालय अन्तर्गत पनि बजेट विनियोजनमा मन्त्रीले मनपरी गरेको आरोप लगाए।सहरी विकासमन्त्री सिता गुरुङले उनको जिल्ला तेह्रथुममा बजेट विनियोजन गरेको भए समग्र जिल्लाको मन्त्री भएको आभास हुने भन्दै आफ्नो निर्वाचन क्षेत्र लक्षित बजेट ल्याएको भन्दै त्यसले क्षेत्रको जस्तो मात्र मन्त्री भएको सन्देश गएको टिप्पणी गरे।
सुदूरपश्चिम सरकारका पूर्वअर्थमन्त्री समेत रहेका सांसद तामाङले सहरी विकास मन्त्रालयलले कञ्चनपुरको पूर्नवासलाई सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले सरकारले जग्गा एकीकरण गरेर पूर्वाधार निर्माण गर्ने भनेर डीपीआर बनाउन करोडौ खर्च गरेपनि सुदूरपश्चिममा बजेट विनियोजन नगरेको भन्दै विरोध जनाए।
‘सरकारले कञ्चनपुरको पुर्नवासमा कहिले बजेट विनियोजन गर्दैन। राजा र पञ्चायतकालमा पुनर्वासमा १० हजार हेक्टरमा व्यवस्थित वस्ती बसालिएको छ। अहिले सरकारले मध्य लोकमार्गले छोएको पहाडी क्षेत्रमा १० वटा स्मार्ट सिटीको योजना राखेको देखियो। नयाँ सहर भनेर ५२ वटा कार्यक्रम घोषणा समेत गरेको रहेछ। त्यसमा १ करोड बजेट विनियोजन गरेको छ। नयाँ नयाँ कार्यक्रम घोषणा गर्ने र करोडौं बजेट अरुमा घोषणा गर्ने यो राम्रो देखिएन। मैले पुनर्वासमा बजेट विनियोजन गर्ने विषयमा सबैसँग पहल गरे तर कसैले कुरा सुनेनन्,’ सांसद तामाङले भने।