
कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिवार दिउँसो धनगढी उपमहानगरपालिका–१२ कम्पनी टोल र वडा नं १ बङ्ग्राकटान क्षेत्रमा छुट्टाछुट्टै प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सामान बरामद गरेको हो।
भारतबाट भन्सार छली गरी ल्याइएको सामान से १ ह २४२९ नम्बरको पेट्रोल अटोमा बेवारिसे अवस्थामा कम्पनी टोल क्षेत्रमा फेला परेको थियो। उक्त अटोसहित रु चार लाख ५० हजार ३०० बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानमा सूर्ति १२० प्याकेट, बिडी ७४ प्याकेट, गुट्खा ३० प्याकेट, प्लास्टिक झिल्ली २८ प्याकेटलगायत रहेका छन्।
धनगढी–१ बङ्ग्राकाटान क्षेत्रमा अर्को प्रहरी टोलीले रु २४ हजार ५०० बराबरका भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको छ। त्यहाँबाट गुट्खा नौ प्याकेट, कफी तीन प्याकेट, मसला पाँच प्याकेट, सुपर पावर सूर्ति ४७ प्याकेट, दुना–टपरीका प्लास्टिक ४०० दर्जन र चिनी २० किलो बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै स्थानबाट बरामद गरिएका अटो र सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ















