
धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेः मुख्यमन्त्री भट्ट
आगामी बजेटमा सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन कसरी गर्ने भन्ने विषयमा आइतवार नाटा सुदूरपश्चिम तथा पर्यटन व्यवसायीसँग आयोजित छलफलमा सुदूरपश्चिममा पर्यटकलाई आकर्षित गर्न पर्याप्त सम्भावना रहेको बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताए।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, प्रवद्र्धन र प्रचारप्रसारलाई प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताए। उनले एकीकृत बजेट निर्माणमार्फत प्रदेशको पर्यटन क्षेत्रको दिगो विकास हासिल गर्न सकिने बताए। सङ्घ, प्रदेश र स्थानीय तहले आआफ्नै ढङ्गले टुक्रे योजना निर्माण गर्नुभन्दा उपलब्ध बजेटलाई एकीकृत गरी नयाँ ढङ्गबाट विकासको खाका तयार गर्नुपर्ने बताए।
सुदूरपश्चिममा रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको व्यवस्थित विकास गर्न तीनै तह र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। छलफलमा सहभागी पर्यटन व्यवसायीले आगामी बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै पर्यटकीय पूर्वाधार विकास, प्रचारप्रसार तथा व्यवसायीमैत्री नीति निर्माण गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए















